
काठमाडौँ । बलात्कार अभियोगमा दोषी ठहर सन्दीप लामिछानेको मुद्दा आज उच्च अदालत पाटनमा सुनुवाइ अहिले चलिरहेको छ । क्रिकेटर लामिछानेको मुुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा परेको छ ।
यही वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा उक्त मुद्दा ‘हेर्न नमिल्ने’मा परेको थियो ।
मंगलबार सन्दिपको मुुद्दा एक नम्बरमा नै परेको थियो । त्यसअघि, न्यायाधीशद्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले गौशाला २६ (छ) को जन्मदर्ता प्रमाणपत्रसँगै जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल कपी झिकाउने आदेश गरेको थियो ।
काठमाडौं जिल्ला अदालतले सन्दीपले गौशाला २६ (छ)लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गएको फागुन १० गते पुनरावेदन गरेका थिए ।
