तीन वर्षमा चार हजार श्रमिकले ज्यान गुमाए

काठमाडौं । बितेको तीन वर्षमा वैदेशिक रोजगारीका क्रममा चार हजार नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ जना नेपाली श्रमिकको मृत्यु भएको हो ।

बोर्डका अनुसार अवधिमा त्यस्तै आठ सय ७० जना अङ्गभङ्ग तथा बिरामी भएको तथ्याङ्क छ । गत तीन वर्षको श्रमिकको मृत्यु दर विश्लेषण गर्दा २०७७/७८ को तुलनामा २०७८/७९ मा पाँच प्रतिशत वृद्धि भएको र २०७८र७९ को तुलनामा २०७९/८० मा एक प्रतिशत घटेको छ ।

त्यस्तो अङ्गभङ्ग तथा बिरामी श्रमिकको दर २०७७/७८ मा १८.५० प्रतिशत रहेकोमा २०७८/७९ मा ३१.९५ प्रतिशत र २०७९/८० मा ४९.५४ प्रतिशतले वृद्धि भएको छ । मृत्यु हुने श्रमिकको सङ्ख्यामा कमी आए तापनि अङ्गभङ्ग तथा बिरामीको दर बढ्दो क्रममा रहेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा गएका नेपाली कामदार सम्बन्धित देशको हावापानी, कामको चाप, मदिरा सेवन, कामदारबिच झैझगडा, पारिवारिक तनाव, स्थानीय कानुनको जानकारीको अभाव, मेसिनरी औजारको सञ्चालनमा हुने प्राविधिक त्रुटि, ट्राफिक दुर्घटना, बिरामी, कार्यस्थल दुर्घटना, जलेर, निस्सासियर, डुबेरलगायतका कारणले मृत्यु, अङ्गभङ्ग तथा बिरामी परेको अवस्था छ ।

यस वर्ष भएको कुल मृत्यु एक हजार २५० मध्ये मलेसियामा २७.९६ प्रतिशत, साउदी अरबमा २६.३६ प्रतिशत, संयुक्त अरब इमिरेट्समा १७.९८ प्रतिशत, कतारमा १७.२३ प्रतिशत, कुवेतमा ६.०४ र अन्य देशमा ४.४३ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।