कान्ति लोकपथः मर्मतपछि आजदेखि पुनः सञ्चालन

ललितपुर । चैत १ गतेदेखि बन्द रहेको कान्ति लोकपथ पुनः सञ्चालनमा आएको छ । पूर्ण रुपमा मर्मतसम्भार सम्पन्न भएपछि सो मार्ग खुला गरिएको कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।

उनले भने, ‘ललितपुरको बागमती गाउँपालिकाको वडा नं ३ झाँक्री डाँडाबाट छपेलीतर्फ कार्की बासको साँघुरो ठाउँमा कटिङ सकिएको छ, काल्चे क्षेत्रमा कटिङ गर्नुपर्ने काम पनि सम्पन्न भएको छ । ललितपुरतर्फ सिङ्गल लेन भएको केही ठाउँमा यस आवमा बजेट नपुग भएको कारण कटिङको काम सम्पन्न हुन बाँकी छ । बहुवर्षीय टेण्डरमा कटिङ गर्ने भनिएको छपेलीबाट काल्चेतर्फको खण्डमा मात्रै बाँकी रहेको छ । बाँकी काम अर्को आवमा हुन्छ, अहिलेलाई सवारी आवतजावतका लागि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालन हुनेछ ।’

वैशाख १५ गतेदेखि आंशिकरुपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा कटिङ गर्दा माथिबाट खसेको ढुङ्गाले पूर्णरूपमा क्षति काल्चे खण्डको सडकको भाग भत्किएपछि वैशाख २१ गतेदेखि पूर्णरूपमा बन्द भएको थियो । काठमाडौँलाई हेटौँडासँग जोड्ने उपयुक्त र दूरीका हिसाबले छोटो मानिएको यो सडक निर्माण थालिएको ६७ वर्ष भइसकेको छ ।

विगतका सरकारले यो सडक निर्माणका लागि प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ । कान्ति राजमार्गको हेटौँडा बुद्ध चोकदेखि ललितपुरको सात दोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो ।