काठमाडौं । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले सानातिना योजना लगेर चुनाव जितिन्छ भन्ने मानसिकता त्याग्नुपर्ने बताएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा उनले विगतमा सबैभन्दा बढी बजेट लाने नेताले नै चुनाव हारेको इतिहार रहेको जिकिर गरे ।
उनले भने, ‘चुनाव जित्ने धेरै आधारहरु होलान् । तर बजेट हो भन्ने मलाई लाग्दैन ।’ विगतदेखि नै बजेट बनाउँदा व्यवसायिक घरानाले फाइदा लिए कि भन्ने आशंका आफूहरुले गर्दै आएको उनले बताए । यस वर्षको बजेट बनाउँदा अर्थमन्त्रीले यो कुरामा ध्यान दिएको आफूले महसुस गरेको उनको भनाइ छ ।
भन्सारमा १० प्रतिशत अग्रिम कर उठाउने प्रावधानले राज्यलाई फाइदा भए पनि उपभोक्ताहरु मारमा पर्ने भन्दै अर्थमन्त्री वर्षमान पुनलाई उनले ध्यानाकर्षण गराए । ‘सामान बिके पनि नबिके पनि व्यापारीहरुले सामानहरुको मूल्य वृद्धि गरिरहेका हुन्छन्, यसको प्रत्येक्ष असर उपभोक्ताहरुमा परेको देखिन्छ । यसप्रति अर्थमन्त्रीज्युले सोच्नुपर्ने देखियो’, उनले भने ।
