हवाइ उडान ठप्प भएपछि पर्यटक मर्कामा

सोलुखुम्बु । प्रतिकूल मौसमका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटकहरु मर्कामा परेका छन् । गत जेठ २६ गतेदेखि खुम्बु क्षेत्रमा कुनै पनि जहाजले उडान भर्न सकेका छैनन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका अनुसार अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकोप्टरले उडान भर्न सकेका छैनन् । प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले भने, ‘अहिले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजन हो । यतिखेर आउनेभन्दा फर्किने पर्यटक ज्यादा हुन्छन्, तर मौसमअनुकूल छैन । त्यसैले सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेको छ, हुस्सुले वरको वस्तु परबाट देखिन्न, झन् जहाज उडान हुने त कुरै छैन ।’

लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकोप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको एयर ट्राफिक कन्ट्रोलर दाहालले बताए ।

उनका अनुसार सुर्के केही होचो स्थान भएकाले त्यहाँबाट हेलिकोप्टरले पर्यटक काठमाडौं लैजाने गरेको छ । भौगोलिक बनावटका कारण पनि लुक्लामा बढी हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुने गरेको प्राधिकरणले बताएको छ ।