काठमाडौं । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तारको काम २५ प्रतिशत मात्र पुरा भएको छ । डेढ वर्ष अघिदेखि सुरु भएको सडक विस्तारको समयावधि ३६ महिना मात्र भएपनि निर्माण कम्पनीले निकै सुस्त गतिमा बनाइरहेका कारण निर्माण कार्य सुस्त बनेको छ ।
भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई चरणमा निर्माणको काम भइरहेको छ । तीन वर्षभित्र पुरा गर्ने लक्ष्यसहित विसं २०७९ पुस २४ गते निर्माण कम्पनीले काम सुरु गरेको थियो ।
सूर्यविनायकबाट धुलिखेलसम्मको सडक १६ किलोमिटर छ । सडक विस्तारका लागि सात दशमलव पाँच किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका प्रमुख राजेन्द्रप्रसाद दासकाअनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको हो।
सडक विस्तारका क्रममा रहेका अस्थायी घरटहरा र संरचना भक्तपुर जिल्ला प्रशासन कार्यालय र सूर्यविनायक नगरपालिकाको सहयोगमा भत्काउने काम सम्पन्न भइसकेको उनले बताए ।
सडक मापदण्डभित्र परेका केही स्थायी संरचनाले सडक विस्तारमा अवरोध पुगेका काम छाड्दै अगाडि बढेको उनले जानकारी दिए । स्थायी संरचना हटाउनेबारेमा छिटो निर्णय गर्न सम्बन्धित मन्त्रालयमा पत्राचार गरिसकेको समेत उनले बताए ।
