
सीता पौडेल(अर्चना)
काठमाडौं।काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८१ ।०८२ का लागि ३ अर्ब २५ करोडको बजेट प्रस्ताव गरेको छ।
नगरपालिकाकी उप–प्रमुख अनिता लामाले १४ औं नगर सभामा उक्त बजेट पेश गरेकी हुन् ।यस आर्थिक वर्ष (आव)मा नगरपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तय गरेको जनाएको छ ।
उप–प्रमुख लामाले नगरपालिकाले २०८१ ।०८२मा गर्भवती आमालाई निशुःल्क अल्ट्रासाउण्ड र गर्भ परिक्षण,नगर अस्पताल र बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलालाई गुणस्तरीय न्यानो प्रसूति झोला र जनही ३ हजार १ सय रुपैयाँ प्रसूति पोषण भत्ता उपलब्ध गराउने,वडाको शिफारिसको आधारमा नागरवासीलाई निशुःल्क रक्त सेवा,६८ वर्ष उमेर समुहकालाई नगर अस्पतालमा सुगर,प्रेसरको निःशुल्क जाँच तथा उपचारको व्यवस्था जस्ता विषयलाई प्राथमिकतामा राखेको उल्लेख गरेकी छन्।
यस्तै ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई निस्शुल्क रुपमा आँखा जाँच तथा मोतिबिन्दुको अपरेसन,सुरक्षित गर्भपतन,निजी अस्पतालमा पनि नगरका स्थायी बासिन्दा,कर्मचारी र जनप्रतिनिधिलाई निष्चित प्रतिशत छुट दिने व्यवस्था मिलाउने नीति पनि यस नगरपालिकाले लिएको प्रस्तावित नीति तथा कार्यक्रममा उल्लेख छ।
उप–प्रमुख लामाले सो नगरसभामा नगर अस्पताललाई नागरिक अस्पतालको रुपमा विकास गर्ने,सरल ,सहज ,प्रविधि मैत्री र गुणस्तरीय सेवा प्रदान गर्नका लागि ९ करोड र स्वास्थ्य बीमा,निःशुल्क रक्त सेवा जस्ता कार्यक्रमका लागि ३ करोड ३० लाख रकम बराबरको बजेट विनियोजनको प्रस्ताव पेश गरेकी थिइन्।
यस्तै शिक्षामा सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि,सामुदायीक र संस्थागत विद्यालयबीच सिकाई आदान प्रदानको लागि साझेदारीमूलक कर्यक्रम सञ्चालन जस्ता विषयलाई नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यसैगरि यस नगरपालिकाले ‘बुढानीलकण्ठमा बसौं बुढानीलकण्ठमै पढौं ’ कार्यक्रमलाई कार्यान्वयन गर्ने,रमाइलो शुक्रबार अन्तगर्तको कार्यक्रमलाई सबलिकरण गर्ने,बुढानीलकण्ठ आवासीय विद्यालयलाई सबैको पहुँचयोग्य र उदाहरणीय शैक्षिक केन्द्रको रुपमा विकास गर्ने लगायतका नीति लिएको छ।नगर क्षेत्रमा गुरुकुल शिक्षा,सँस्कृति शिक्षा सञ्चालनमा प्रोत्साहन गर्ने नीति लिएको नगरपालिकाले जनाएको छ।
यस्तै पालिकाले महिलाहरुको वैयत्तिक,आर्थिक तथा सामाजिक शसक्तीकरणका लागि क्षमता,सीप तथा उद्यमशीलता विकास,महिला बालबालीका तथा किशोरी र यौनिक ताथ अल्पसंख्यकप्रति हुने सबै किसिमका हिंसा,दुव्र्यवहार,विभेद,शोषण र उपेक्षाको अन्त्य,बाल श्रमविरुद्धको अभियान लगायतका कार्यक्रमलाई प्रभावकारी बनाइने नीती तथा कार्यक्रम तय भएको जनाएको छ ।
त्यस्तै यस नगरपालिकाले दीगो पूर्वाधार तथा सन्तुलित विकास,सूचना प्रविध,आर्थिक विकास र राजस्व परिचालन,पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनलाई जोड दिएको प्रस्तावित नीति तथा कर्यक्रममा उल्लेख छ।
त्यसैगरि खानेपानी र सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापन,संस्थागत शुसासन,भाषा,संस्कृति,कला र साहित्यको संरक्षण,प्रवद्र्धन र विकास जस्ता विषयमा समेत जोड दिएर नीति लिएको जनाएको छ।यस्तै लैंगिक समानता र सामाजिक समावेशी उत्तरदायी बजेट परिक्षण पद्धतिलाई निरन्तरता दिइने जनाइएको छ ।
यसैगरि कृषि,उत्पादकत्व वृद्धि,बजारीकरण,उद्यम,स्वरोजगारी र सहकारीताको विकास,युवा शक्ति तथा खेलकुदको प्रवद्र्धन,वन तथा वातावरण,फोहोर मैला तथा विपद् व्यवस्थापन,समावेशीकरण तथा सीमान्तकृत समुदायको मूलप्रवाहीकरण जस्ता विषयलाई आव २०८१ ।०८२ को नीति तथा कार्यक्रममा समावेश गरेर यसलाई कार्यान्वयन गर्ने नीति लिएको जनाएको छ।
भौतिक पूर्वाधार विकास तर्फ १ अर्ब ५१ करोड १७ लाख बजेट विनियोजनको प्रस्ताव गरेको सो नगरपालिकाले वन वातावारण तथा विपद् व्यवस्थापनका लागि ३ करोड ५० लाख बजेट प्रस्ताव गरेको छ।
यसैगरि प्रशासनिक कार्य संचालनका लागि ३७ करोड २८ लाख बजेट प्रस्ताव गरेको छ।यस बुढानीलकण्ठ नगरपालिकाले सुचना प्रविधि तथा संचारका लागि २ करोड ५० लाख बजेट प्रस्ताव गरेको उल्लेख गरेको छ।
‘स्वच्छ,शान्त,समृद्ध पर्यटकीय नगर बुढानीलकण्ठ’ भन्ने नारालाई दीर्घकालिन लक्ष्य प्राप्तीको मुल आधार बनाएको यस नगरपालिकाले सबै १३ वटै वडालाई प्रति वडा ३ करोड बराबरका दरले बजेट विनियोजन गरेको छ।
‘परदेशको ज्ञान,बुढानीलकण्ठको माटोको योगदान’ भन्ने नारालाई आत्मसाथ गर्दै बैदेशिक रोजगारीबाट फर्केका सीप र ज्ञान भएका युवालाई सामुहिक तथा व्यक्तिगत तवरको व्यवसायीक योजना प्रदान गरेर प्रोत्साहन गर्ने रणनीति पनि नगरपालिकाले तय गरेको आव ०८१ ।०८२ को नीति तथा कार्यक्रममा उल्लेख छ ।
