मन्त्री मनाङे मन्त्रालयमा गञ्जीमै देखिएपछि सर्वत्र आलोचना

पोखरा।गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरूङ (दीपक मनाङे) मन्त्रालयको कुर्सीमा गञ्जीमै देखिएपछि सर्वत्र आलोचना भएको छ।

मनाङेले जिम्मा पाएको मन्त्रालयमा उनी कार्यकक्षमा गञ्जीमा भेटिएपछि उनको सामाजिक सञ्जाल लगायत चौतफी आलोचना भइरहेको हो ।गञ्जीमै भेटिएका उनीमाथि सेवाग्राहीसँग अपशब्द समेत बोल्ने,कार्यकक्षमै मदिरापान गर्ने गरेको आरोप समेत लागेको छ ।

 केही दिनअघि पनि मन्त्री मनाङे गञ्जीमै कार्यकक्षमा बसेर मदिरा खाएर अपशब्द बोलेको कर्मचारीले नै गुनासो गरेका छन् ।

मन्त्रीको सामान्य मर्यादाकोसमेत ख्याल नगरी गञ्जीमै कार्यकक्षमा बस्नु पक्कै पनि लज्जास्पद र हास्यास्पद विषय हो ।यसले उनको क्षमता र दक्षतामाथि झन ठूलो प्रश्नचिन्ह खडा गरिदिएको छ ।

हालै शुक्रबार मन्त्रालय पुगेका केही सेवाग्राहीलाई पनि उनले रक्सी खाएर जान अफर गरेको पनि बताइएको छ ।

साथै उनले केही सेवाग्राहीका माग सम्बोधन गर्ने नगर्ने निर्णय भइनसक्दा आफूलाई ब्याकमेलिङ गर्न खोजेका तर आफु यसमा नडराउने र ढुक्कले रक्सी खाएर सुत्ने बताएको समेत विभिन्न समाचारहरुमा उल्लेख भएको छ ।

गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएर दोस्रोपटक पनि स्वतन्त्र सांसद जितेका मनाङेले छैटौंपटक मन्त्री हुने रेकर्डमात्र बनाएका छैनन्, यस्तै विवादित गतिविधिले सधैं चर्चामा रहने गरेका छन् ।