मानवता इतिहासकै कठिन मोडमा छ, : परराष्ट्रमन्त्री

११,असोज काठमाडौं। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अहिले मानवता इतिहासकै कठिन मोडमा रहेकाले मानवहितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताएकी छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन हाल अमेरिकाको न्युयोर्कमा रहेकी मन्त्री डा।राणाले बिहीबार सम्पन्न एशियाली कोअपरेसन डायलग ९एसिडी० मा संलग्न देशहरूका मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उक्त धारणा राखेकी हुन् । सो बैठकमा उनले भनिन्, “हामीहरू अहिले विश्वमा सबैभन्दा बढी समस्यामा रहेका छौँ ।

एकातर्फ हाम्रो साझा घर पृथ्वीले जलवायु परिवर्तनको असरका कारण दिनप्रतिदिन नसोचिएको समस्या झेलिरहेको छ । हिमालहरू पग्लिने क्रम तीव्र बन्दैछ । हिमताल फुटेर कहाँ कतिबेला बाढी आउँछ र मानवीय क्षति गर्छ भन्ने त्रास बढेको छ । मानवनिर्मित विकासका संरचना तथा पूर्वाधारसमेत भत्किँदै छन् । असमयमै बाढीको प्रकोप बढ्दै गएको छ । मानवीय सभ्यताको विनाश सुरु भएको त होइन भन्ने त्रास देखिँदैछ ।”

यस्ता समस्याबाट नेपालजस्ता विकासशील राष्ट्रहरू, भूपरिवेष्टित राष्ट्रहरू तथा विश्वका अतिकम विकसित राष्ट्रहरू बढी मारमा परिरहेका मन्त्री डा।राणाको भनाइ थियो । त्यसैले यी देशहरूलाई सहयोगको बढी खाँचो परिरहेकाले ‘क्लाइमेट जस्टिस’ का लागि ‘क्लाइमेट फाइनान्सिङ’ आवश्यक रहेको उनले बताइन्। यस्तो समस्यामा परेका देशहरूलाई दिगो विकासका लागि सहयोग बढाउन मन्त्री डा।राणाले आग्रह गरिन् ।