३, मंसिर गण्डकी । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ ।
प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को सिफारिससहितको उक्त प्रस्ताव आइतबार संघ सरकारका मुख्यसचिव एकनारायण अर्यालसमक्ष पेस गरेका हुन् ।
स्रोतसाधन र बजेटको अभावमा एक हजार शय्याको विशिष्टीकृत अस्पताल निर्माणको काम अगाडि बढ्न नसकेकाले भौतिक पूर्वाधार निर्माण, शय्या, औँजार, उपकरणलगायतमा चीन सरकारको सहयोगको अपेक्षासहित उक्त प्रस्ताव गरिएको मन्त्री पाठकले बताए ।
“प्रदेश स्थापना भएपछि पहिलो प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रूपमा विशिष्टीकृत अस्पताल बनाउने निर्णय गरे पनि स्रोतको अभावमा उक्त काम अझैसम्म अगाडि बढ्न सकेको छैन”, उनले भने “प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डाका रूपमा यो अस्पताल समावेश भएर परियोजना कार्यान्वयन हुन सक्यो भने गण्डकी प्रदेशवासीले महत्त्वपूर्ण लाभ लिन सक्छन् ।”
मन्त्री पाठकले गण्डकी प्रदेश चीनको भू–भागसँग जोडिएको र हालै यसै प्रदेशमा पर्ने कोराला नाकामा अध्यागमन कार्यालयसमेत स्थापना भएको अवस्थामा द्विपक्षीय लगानी तथा सहयोग आदानप्रदानमा थप सहजता थपिएको उल्लेख गरे ।
