जनताका आकाङ्क्षा पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छ : महासचिव पोखरेल

१२, पुस नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले जनआकांक्षा पूरा गर्न सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल चितवनले आज बिहान नवलपुरको गैँडाकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समृद्धिको सपना पूरा गर्न प्रमुख दलहरू मिलेर अगाडि बढेको र यसमा सबैको सकारात्मक सहयोग हुनुपर्ने बताए।

महासचिव पोखरेलले सूचना प्रविधि, विश्व अर्थ व्यवस्था र विकास प्राथमिकतामा आएका परिवर्तनहरूलाई आत्मसात् गर्दै सरकारले कानुनमा सुधार र सहकार्यका लागि सहजीकरण गर्नुपर्नेमा जोड दिए । “विश्वभर नै नयाँ नयाँ परिवर्तन र सोहीअनुसार मानिसका सोच र आवश्यकता बदलिरहेका छन् । कानुनी जटिलताले विकास निर्माणका काममा बाधा परेको छ”, उनले भने, “आवश्यकताअनुसार कानुन निर्माण र संशोधन गरेर ती नयाँ प्रविधिहरू र परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने अवस्था आएको छ ।