ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बंगलादेशका लगानीकर्तालाई आग्रह

१७, माघ काठमाडौं । ढाकास्थित नेपाली राजदूतावासले बुधबार साँझ “नेपाल र बंगलादेशबीचको व्यापार र लगानी सम्बन्ध” विषयमा कार्यशाला आयोजना गरेको छ । साथै दूतावासले ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बंगलादेशका लगानीकर्तालाई आग्रह पनि गरेको छ ।

त्यस अवसरमा राजदूत घनश्याम भण्डारीले नेपाल र बंगलादेश बीचको बढ्दो आर्थिक संलग्नताबारे चर्चा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, ऊर्जा र पर्यटनलगायत क्षेत्रमा हासिल भएको प्रगति, नेपालबाट पहिलो पटक ४० मेगावाट जलविद्युत् बंगलादेश आयात, ऊर्जा सहयोगले दुई देशलाई मात्र नभई सम्पूर्ण दक्षिण एसिया क्षेत्रलाई त्यसबाट लाभ हुने बताए ।

राजदूत भण्डारीले बंगलादेश व्यापारिक नेताहरूलाई नेपालको व्यापार समुदायसँग समन्वयात्मक साझेदारी निर्माण गर्न र नेपालमा उपलब्ध लगानीका अवसरहरूको उपयोग गर्न पनि आग्रह गरेको उक्त राजदूतावासले जनाएको छ ।