प्रधानमन्त्रीसमक्ष अतिक्रमित जग्गा खाली गराउन माग

२८, माघ काठमाडौं । बाँकेको कोहलपुरस्थित निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नजिकै रहेको सरकारी जग्गाको अतिक्रमण हटाउन स्थानीयस्तरबाट भएको पहलकदमीले सार्थकता नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ ।

बाँके क्षेत्र नम्बर १ का सांसद सूर्य ढकाल, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङ, नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलसहितको टोलीले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट गरी तत्काल जग्गाको अतिक्रमण हटाउन ध्यानाकर्षण गराएको हो ।

कोहलपुरका नगर प्रमुख आचार्यले कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको अरिब २८ विघा क्षेत्र लामो समयदेखि अतिक्रमणमा परेको जानकारी दिए ।

नगर प्रमुख आचार्यले भने, ‘‘नगरपालिकाले स्थानीय स्तरमा पहल गरी अतिक्रमण हटाउन खोजे पनि सफल नभएपछि प्रधाामन्त्रीको ध्यानाकर्षण गराएका छौं, अब सरकारी जग्गाको अतिक्रमण हट्ने आशा जगाएको छ ।’’