
२८, माघ काठमाडौं । नेपाल सरकारको राष्ट्रिय योजना आयोगद्वारा आयोजित सचिव स्तरीय छलफलबाट जलवायु उत्तरदायी बजेटलाई हालको ६ प्रतिशतबाट वृद्धि गरी २० प्रतिशत पुर्याउने महत्त्वपूर्ण निर्णय गरिएको छ ।
बुढानीलकण्ठ, काठमाडौँमा आयोजित नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरू सहभागी छलफलले दीर्घकालीन विकास रणनीति, हरित अर्थतन्त्र प्रवर्द्धन, जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका लागि ठोस मार्गचित्रसमेत अघि सारेको छ ।
नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्दै दिगो विकासलाई प्रवर्द्धन गर्नका लागि आगामी आवधिक योजना, मध्यमकालीन खर्च संरचना र वार्षिक बजेटबीच समन्वय गर्दै जलवायु उत्तरदायी बजेटलाई उल्लेखनीय रूपमा वृद्धि गर्ने योजना बनाएको छ ।
