२८ माघ,काठमाडौं ।मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित भएको छ ।राष्ट्रियसभाको आज सोमबार बसेको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक,२०८० पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको थियो।
पत्रकारिताको पेसागत तथा व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमनलाई प्रवर्द्धन गरी स्वच्छ,स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि स्वायत्त नियामक निकायको रुपमा स्थापित गर्ने उद्देश्यले मिडिया काउन्सिल विधेयक ल्याइएको बताइएको छ।
राष्ट्रिय आमसञ्चार नीति,२०७३ का आधारमा प्रेस काउन्सिलललाई मिडिया काउन्सिलमा रुपान्तरण गरी सक्षम निकायको रुपमा विकास गर्न विधेयक ल्याइएको जनाइएको छ।
विद्युतीय अनलाइन र छापा पत्रकारितालाई मर्यादित,उत्तरदायी,जिम्मेवार एवं विश्वसनीय बनाई स्वच्छ तथा स्वतन्त्र रुपमा पत्रकारिताको विकास,संरक्षण तथा नियमनलाई व्यवस्थित बनाउन कानुन निर्माण गर्नु आवश्यक भएकाले सो विधेयक ल्याइएकोसमेत विधेयकमा उल्लेख गरिएको छ।
राष्ट्रियसभाको अर्को बैठक आगामी फागुन ४ गते दिउँसो १ बजे बस्ने जनाइएको छ ।
