समाजवाद हाम्रै पालामा सम्भव छ : प्रचण्ड

२८, माघ महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थित योजनाका साथ जाने हो भने समाजवाद निर्माण हाम्रै पालामा सम्भव रहेको बताएका छन् ।

महोत्तरीको बर्दिबासस्थित आधारशीला जनकम्युनको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित वैचारिक तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

समाजवाद आकाशबाट खस्ने वा धर्तीबाट जन्मने नभई जनताले निर्माण गर्ने भएकाले यसका लागि सुव्यवस्थित अभियान र आन्दोलन भने आवश्यक रहेको बताए ।

हरेक समुदायमा आफ्नै राजनीति, आफ्नै अर्थतन्त्र र आफ्नै संस्कृति भएको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपालमा समुदाय केन्द्रित समाजवाद नै उपयुक्त हुने धारणा राख्दै अध्यक्ष प्रचण्डले त्यसका लागि समुदायस्तरबाटै समाजवाद निर्माणको अभियान थाल्नुपर्ने बताए ।