राज्यले नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउनुपर्छ : राष्ट्रपति पौडेल

२०, फागुन काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

नेपाल चिकित्सक सङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार भएको बताए । उनले भने, “संविधानको यो भावना र मर्मलाई आत्मसात् गर्दै चिकित्सकले यो पेशालाई सेवा भावको दृष्टिकोणले हेर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।”

राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको स्पष्ट पारेका छन ।

उनले देशका दुर्गममा अझै पनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको उल्लेख गर्दै यो अवस्थालाई गम्भीरतापूर्वक लिएर देशका कुना, कुनामा दक्ष, विज्ञ चिकित्सकको सेवा पुर्‍याउन आवश्यक रहेको बताए ।