
२१ फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज अध्यादेश अघि बढाइँदैछ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो ।
यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित भएको थियो । सरकारले नै अध्यादेश अगाडि नबढाउने भनेपछि सभामुख देवराज घिमिरेले त्यसदिन अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यसूची स्थगित गरेका थिए । त्यसको झण्डै एक महिनापछि अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यक्रम कार्यसूचीमा परेको हो । गत माघ २४ गते ६ वटै अध्यादेश अगाडि बढाउने कार्यसूची थियो । आज दिउँसो १ बजेका बसन्ते बैठकमा भने पाँच वटा अध्यादेश अगाडि बढाउने सम्भावित कार्यसूची छ ।
सत्तापक्षमै रहेको जनता समाजवादी पार्टी ९जसपा० नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालले भूमिसम्बन्धी अध्यादेश अगाडि बढाउन सहयोग नगर्ने अडान लिएपछि सरकारले बाँकी अध्यादेश अगाडि बढाउन लागेको हो ।
भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा जारी भएको थियो । यो अध्यादेश तत्काल संसदमा होल्ड हुने भएको छ । बाँकी अध्यादेश भने अगाडि बढाउने कार्यक्रम तय भएको हो ।
