
३०, चैत काठमाडौं । गृहमन्त्री रमेश लेखकले यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड रहेको बताएका छन् ।
आज (शनिवार) तराई यातायात व्यवसायी संघको १८ औँ वार्षिक साधारण सभा बाराको सिमरामा बोल्दै उनले उद्योग,व्यापार,पर्यटन,शिक्षा तथा स्वास्थ्य सेवा सबैको सम्बन्ध यातायातसंग जोडिएको बताउँदै यातायात व्यवसायिको भूमिका अतुलनिय रहेको बताए ।
उनले कृर्षि उत्पादनको बजारसम्म पहुँच,मानव स्रोतमाथिको निर्भरता लगायत सीमा पार व्यापारमा यातायात व्यवसायको महत्त्वपूर्ण भूमिका रहेको बताए । “सडक संरचना र यसको स्तरले ल्याएको समस्या र चुनौती,यातायात क्षेत्रमा देखा परेका केही प्रशासनिक झण्झट लगायतका धेरै समस्या र सवालहरू छन ।” मन्त्री लेखकले भने “तपाईँहरूले उठाउँदै आएका विषयमा के गर्न सकिन्छ भन्ने कुरामा नेपाल सरकार गम्भीर छ ।”
यातायात क्षेत्रमा नियमको कार्यान्वयन,व्यवसायीले भुक्तानी गर्ने कर संरचना र यातायात क्षेत्रमा संलग्न व्यवसायी,मजदुर र साधन सुरक्षाका सवाल रहेको उनको भनाई थियो । “विभिन्न समस्याका बावजुत पनि राम्रोसँग सेवा दिई रहेका छन् । ‘तपाईँहरूले राम्रो गर्दागर्दै केही कमीकमजोरीहरू आवश्यक सुधार गर्नुपर्ने देख्दछु ।
’ उनले भने “यातायात व्यवसायीहरूले भाडादरमा पारदर्शिताको अभाव,सेवाको गुणस्तरमा कमी,यात्रु सुरक्षामा लापरबाही,हड्ताल र सवारी बन्द गर्ने प्रवृत्ति,प्राविधिक प्रयोगको कमी लगायतका कुरामा सुधार गर्नुपर्ने देखिन्छ ।” उनले आफू २०६३ सालदेखी कुनै न कुनै रूपमा यातायात क्षेत्रसंग जोडिएको बताउँदै यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको बताए ।
