
१८, वैशाख काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिकहरूको योगदानले आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमजीवीहरूलाई शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गमा ऐक्यबद्धता पनि प्रकट गरेका छन् ।
‘सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षासहित मुलुकलाई अघि बढाउनु आजको कार्यभार हो । आर्थिक समृद्धिसहितको नेपाली विशिष्टताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान हो’, उनले सन्देशमा भनेका छन् ।
