
२०, वैशाख ललितपुर । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम राजनीतिक आर्थिक सामाजिक गतिविधि बढाउने गरी आएको बताएका छन् ।
स्यस्य समाज यलको ११औँ स्थापना दिवसका अवसरमा आज मङ्गलबजारमा आयोजित नगर परिक्रमा कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले अहिलेको सरकार ठूलो संघर्ष र बलिदानीबाट जारी भएको संविधान कार्यान्वयन तथा नागरिकको अपेक्षा पूरा गर्ने गरी नीति तथा कार्यक्रम आएको बताए ।
“हरेकको जीवन सहज र सफल होस् भन्दै राजनीतिक स्थिरता दिँदै प्रतिकूलताबाट सहज बनाउन वर्तमान सरकार गठन भएको हो, धेरै संघर्ष गरेर प्राप्त गरेको संविधानअनुसार अभ्यास गर्न पाएको कुरा भुल्नुहुँदैन”, उनले भने ।
उनले हरेक जातजातिको सहभागिताबाट समाजमा परापूर्वकालदेखि पुर्खाहरूले मिलेर समाजलाई अगाडि बढाउन गरेको योगदान र देखाएको सकारात्मक कुरालाई निरन्तरता दिन स्यस्य समाजले उल्लेखनीय काम गर्ने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री सिंहले विभिन्न भाषाभाषी भएको नेपाली समाजमा सबैलाई समेटेर योगदान र मूल्य–मान्यताको सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
