सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग

२८, वैशाख काठमाडौं । नेपाल सरकारले आगामी जेठ २ गतेदेखि आयोजना गर्न लागेको “सगरमाथा संवाद“ कार्यक्रमका लागि भारत सरकारले १५ वटा विद्युतीय सवारी साधन (गाडी) सहयोग स्वरूप प्रदान गरेको छ ।

नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध गराइएका ती गाडीहरू आज परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमार्फत हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती गाडीहरू परराष्ट्र मन्त्री डा। आरजु राणा देउवालाई हस्तान्तरण गरे ।

समारोहमा मन्त्री डा। राणाले भारत सरकारलाई सहयोगका लागि धन्यवाद दिँदै भनिन्, “जलवायु परिवर्तन नेपालको मात्र नभई सम्पूर्ण क्षेत्रको साझा चुनौती हो । यसको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास अपरिहार्य छ ।” उनले सगरमाथा संवाद कार्यक्रमले जलवायु परिवर्तनसम्बन्धी क्षेत्रीय समस्याको उजागर गर्नुका साथै त्यसको समाधानका उपाय खोज्न सामूहिक प्रयासको मोडल तय गर्ने बताइन् ।

मन्त्री राणाका अनुसार, मे १६ देखि १८ सम्म चल्ने सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ र नेपाल सरकार विदेशी अतिथिहरूको स्वागतका लागि तयार छ ।