
१२ असोज, काठमाडौं।एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ ।
दोहामा भएको भेटमा अर्थमन्त्री वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपदपछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न आग्रह गरे ।
भेटमा एआईआईबी अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै विपदपछिको उत्थानशील पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने बताइन् ।
अध्यक्ष जोउले बैंकले प्रोजेक्ट प्रिपरेसन स्पेसलाइस्ड फण्ड मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउने बताइन् ।
स्पेसलाइस्ड फन्ड विन्डो अन्तर्गत अनुदान प्रयोग गरी एआईआईबीले नेपाललाई दिने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने विचार उनले व्यक्त गरेकी छिन् ।
एआईआईबी संस्थापक सदस्य राष्ट्र नेपालको आर्थिक विकासमा थप सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत उनले दोहोर्याएकी छिन् ।
अर्थमन्त्री वाग्लेले नयाँ अध्यक्ष जोउलाई बधाई दिँदै बैंकले संस्थापक सदस्यका रूपमा नेपाललाई पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे ।
उनले एआईआईबीको लगानीमा हाल सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन कार्य छिटो सम्पन्न गर्न आग्रह गरे ।
अर्थमन्त्री डा. वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहायताअन्तर्गत हरित ऊर्जा,सीमापार विद्युत् प्रसारण लाईन,सडक पूर्वाधार र डिजिटल पूर्वाधारको विकासमा बैंकको आफ्नै स्रोतका साथै अन्य दातृ निकायको स्रोतसमेत परिचालन गरिदिन आग्रह गरे ।
छलफलकै क्रममा उनले अध्यक्ष जोउलाई सन् २०२६ भित्रै नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिए ।
