
१२ असोज,काठमाडौं । नेपाल प्रहरीले आउँदै गरेका चाडपर्वहरूलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ।
चाडपर्वमा यात्रुहरूले ठगिन नपारोस् र सवारी दुर्घटना नहोस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गर्न लागिएको हो ।
आज प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल जंग शाहले टिकटमा हुने कालोबजारी र सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई रोक्न प्रहरीले विशेष निगरानी गर्ने बताए ।
टिकट बुकिङलाई थप व्यवस्थित र विश्वसनीय बनाउन काउन्टरमा बस्ने कर्मचारीको आधिकारिक परिचयपत्र अनिवार्य हुनुपर्ने पनि उनले बताए।
सवारी दुर्घटना न्यूनीकरणका लागि ‘क्यू–फ्री’ प्रणाली परिवर्तनको खाँचो औँल्याउँदै शाहले सोही मार्गमा अभ्यस्त चालकहरूलाई मात्र खटाउन समेत सुझाव दिएका छन् ।
