सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

३१, वैशाख काठमाडौं । नेपालले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गर्न लागेको छ । विषेशगरी नेपालको पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइरहेको सङ्कट र यसले पारेको वित्तीय असरका उदाहरणहरू प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नका लागि संवाद आयोजना गर्न लागिएको हो ।

संवादको तयारी व्यापक रूपमा अगाडि बढिरहँदा केही सरोकारवालाहरू भने संवादले जलवायु सङ्कट व्यवस्थापनमा लगानीको जोहो हुनसक्ने भन्दै उत्साहित देखिन्छन् । तर केही सरोकारवालाहरूले भने प्रत्यक्ष रूपमा लगानीको प्रतिबद्धता नआए पनि कूटनीतिक सम्बन्ध बढ्न सक्ने र भविष्यमा नेपालले अन्तर्राष्ट्रिय जलवायु कोषमा सहज पहुँच स्थापित हुन संवादले सहयोग गर्न सक्ने बताएका छन् ।

जलवायु न्यायको सुनिश्चितताका लागि ठोस लगानी आवश्यक पर्ने भन्दै नेपालले अन्तर्राष्ट्रिय समुदायबाट लगानीको अपेक्षासमेत गरिरहेको छ ।

यसअघि पनि नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धी (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको शिखर सम्मेलन कोप जस्ता अन्तर्राष्ट्रिय मञ्चहरुमासमेत जलवायु न्यायका पक्षमा आफ्नो आवाज उठाउँदै आएको छ ।

नेपालले कोपजस्ता महत्त्वपूर्ण सम्मेलनमा भाग लिन पूर्व नै तयार गर्ने एजेन्डाहरूमा जलवायु वित्तका एजेन्डालाई प्राथमिकताका साथ उठान गर्दै आइरहेको छ ।