
६, जेठ काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सहिद नेत्रलाल अभागीलाई साक्षी राखेर पार्टीलाई जनजागरण अभियानमा जोड्नुपर्ने बताएका छन् ।
एमाले जिल्ला कमिटी दाङले आयोजना गरेको नेत्रलाल अभागी पौडेलको ४१ औँ स्मृति कार्यक्रमलाई तुलसीपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले पश्चिम नेपालको कम्युनिस्ट आन्दोलनलाई विस्तार गर्नका लागि अभागीको महत्त्वपूर्ण योगदान रहेको बताएका हुन्।
महासचिव पोखरेलले भने, ‘एमालेलाई फेरि जनतामाझ लैजानका लागि, नेत्रलाल अभागीकै, विचारबाट डोर्याउने बेला आएको छ।’ अभागीको आधारभूत वर्ग प्रेमबाट अहिलेका नेता र कार्यकर्ताले प्रेरणा लिनुपर्ने उनको भनाइ छ।
एमाले दाङ जिल्ला कमिटी अध्यक्ष शिवकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न स्मृति कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पछिल्लो समय सामाजिक सञ्जालबाटै धारणा बनाउने र पठन संस्कृतिको कमी भइरहेको बेला अभागीको जीवनीबाट अध्ययन संस्कृतिलाई समेत बढावा दिनुपर्नेमा जोड दिए।
