
१, असार काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्न नयाँ ‘संस्कृति नीति’ यथाशीघ्र ल्याइने बताएका छन् ।
सुकेधारास्थित ओजी मिडिया हाउसले शनिबार आयोजना गरेको ‘नेपाल र जापान सांस्कृतिक आदानप्रदान कार्यक्रम’ मा मन्त्री पाण्डेले संस्कृतिबिना देश र समाजको पहिचान नहुने भन्दै संस्कृति प्राणतत्व रहेको बताए ।
उनले भने, “हामीले पुर्खाबाट प्राप्त गरेको संस्कार र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ । हामी संस्कृतिबिना आत्मा नभएको शरीरमात्र हुन्छौँ । त्यसैले हाम्रो तीनै तहमा संस्कृति संरक्षण र प्रवर्द्धनका गतिविधिलाई बढाउन मन्त्रिपरिषद्को बैठकबाट ‘संस्कृति नीति’ पारित गर्ने तयारीमा छौँ ।”
मन्त्री पाण्डेले संस्कृतिसँगै भाषाले देश र मानिसलाई समृद्ध बनाउनेमा जोड दिए । नेपालमा आएका विदेशी पाहुनालाई मौलिक संस्कृतिसँगै उहाँहरूले बुझ्ने भाषामा नेपालबारे जानकारी दिन सके त्यसले सामीप्यता बढाउने उनले बताए ।
