
२७ जेठ,काठमाडौं ।काठमाडौंको टोखा नगरपालिका–५ बसुन्धारामा रहेको एक गार्मेन्ट उद्योगमा भीषण आगलागी भएको छ ।
बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेजमा विद्युत् सर्ट भई अचानक सल्किएको आगोका कारण करिब ८ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।
बुधबार राती २ः५२ बजेको समयमा उद्योगमा अचानक आगो सल्किएको थियो ।आगो नियन्त्रणका लागि ठुलो संख्यामा सुरक्षाकर्मी र दमकल परिचालन गरिएको थियो ।
आगलागी भएको खबर पाउनासाथ नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय बासिन्दा तथा अन्य सम्बद्ध निकायहरू आगो निभाउन खटिएका थिए ।
काठमाडौँ र आसपासका क्षेत्रबाट पुगेका ११ वटा दमकल र एउटा पानी ट्याङ्करको सहयोगमा बिहान करिब साढे पाँच बजे मात्र आगो पूर्ण रूपमा निभाउन सफल भएका थिए ।
आगलागीका कारण सो गार्मेन्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ। छिमेकी पसल र घरहरूमा समेत आगो फैलिँदा थप क्षति पुगेको प्रहरीले जनाएको छ।उद्योगसँगै जोडिएका अन्नपूर्ण किराना स्टोर र प्रतीक्षा इलेक्ट्रोनिक्समा आगोले ठुलो नोक्सानी पुर्याएको छ।
साथै स्थानीय लुम्बिनी खाजा घर,क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासमा रहेका अन्य दुईवटा घरमा समेत आंशिक क्षति पुगेको छ।यस घटनामा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप विस्तृत अनुसन्धान गरिरहेको छ।
