लोडसेडिङ हुँदैन भनेर मात्र हुँदैन,विकल्पमा ठोस काम थाल्नुपर्छ कुलमान घिसिङ

१४ असोज, काठमाडौं ।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भोटेकोशी हुँदै भदौ १० गते आएको त्रिशूली बाढीबाट त्यहाँका जलविद्युत् आयोजनाहरूको भविष्य र लगानी सुरक्षाबारे गम्भीर चिन्ता उत्पन्न भएको बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा उनले बाढीले विद्युत्, सडक लगायतका अत्यावश्यक पूर्वाधारमा भएको क्षतिले अहिलेको सङ्कट मात्र नभएर आगामी दिनको ऊर्जा सुरक्षा र विकासको यात्रामाथि समेत गम्भीर प्रश्न खडा गरेको उल्लेख गरेका छन् ।

‘ त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरू, विद्युत् प्रसारण तथा वितरण संरचना र सडक पूर्वाधारमा भएको क्षति अत्यन्त गम्भीर छ’, घिसिङले भनेका छन्।

‘त्रिशूली नदी बेसिनको भौगोलिक तथा भौगर्भिक अवस्था र पछिल्लो प्राकृतिक विपद्ले यहाँका जलविद्युत् आयोजनाहरूको भविष्य र लगानी सुरक्षाबारे गम्भीर चिन्ता उत्पन्न गरेको छ ।’ उनले थपेका छन्।

जलविद्युत् आयोजनाहरूको भविष्य र लगानी सुरक्षाबारेको
चिन्ताले स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबलमा समेत प्रतिकूल असर परेको घिसिङको भनाइ छ।

प्राकृतिक विपद् रोक्न नसकिए पनि विपद्पछिको राज्यको प्रतिक्रिया,राहत,पुनर्स्थापना र पुनर्निर्माण प्रभावकारी बनाउन सकिने विषयमा उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।