ग्लोबल आइएमईले पायो ‘बेस्ट बैंक अवार्ड’

काठमाडौँ । ग्लोबल आइएमई बैँकले ‘बेस्ट बैंक अवार्ड’ पाएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागेजिनको ‘बेस्ट बैंक अवार्ड–२०२४’ बाट सम्मान गरेको हो । ग्लोबल फाइनान्स म्यागेजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी सम्मानित गरेको हो ।

बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डमा ग्लोबल आइएमई बैंक सन् २०२४ का लागि नेपालको उत्कृष्ट बैंक भएको बताइएको छ । म्यागेजिनले अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य–अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको हो । ग्लोबल आइएमई ग्लोबल फाइनान्सको यो अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो ।

ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबिसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेसियाको मे बैंक, बंगलादेशको स्ट्यान्डर्ड चार्टर्ड बंगलादेश, फिलिपिन्सको मेट्रो बैंकलगायतका विश्वभरका विभिन्न बैंकलाई विभिन्न विधामा सम्मानित गरेको हो । यो सम्मानले आगामी दिनमा रचनात्मक सेवा प्रदान गर्न थप उत्साहित गर्ने बैंकको भनाइ छ ।