वीरगञ्ज नाका तीन दिन बन्द हुने

वीरगञ्ज । छिमेकी देश भारतमा जारी लोकसभा निर्वाचनलाई लक्षित गरी पर्साको सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सूचना जारी गरी नाका बन्द हुने जानकारी दिएको हो । सूचनाअनुसार, जेठ १० बिहान ६ बजेदेखि जेठ १२ बेलुकी ६ बजेसम्म पर्सा जिल्लाका सीमा नाकाहरु बन्द रहने छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूसालले जारी गरेको सूचनामा बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गर्न लागिएको उल्लेख छ । फेब्रुअरी १७ मा सम्पन्न दुई देशीय सीमा अधिकारीहरुको बैठकमा निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको थियो ।

समाहरणलाय, पश्चिम चम्पारण, बेतिया ९बिहार० को मे १७ मा प्राप्त पत्रबाट समेत अनुरोध भई आएपछि सीमा नाका बन्द गर्न लागिएको सूचनामा उल्लेख छ ।