दाङमा पोलियो खोपविरुद्धको ‘आइपीभी’ खोप लगाइने

दाङ । दाङमा बालबालिकालाई पोलियो खोपविरुद्धको ‘आइपीभी’ खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार ३७ हजार सात सय ५५ जनालाई आइपीभी खोप लगाउन लागिएको हो ।

पत्रकारसँग अन्तरक्रियामा कार्यालयले आज यही जेठ १३ देखि २६ गतेसम्म खोप अभियान सञ्चालन हुने जानकारी दिएको हो । खोप अभियानमा विसं २०७३ देखि २०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप दिने तयारी रहेको कार्यालयले बताएको छ ।

खोप संयोजक झग्गुप्रसाद आचार्यले पहिलो चरणमा यही जेठ १३ गतेदेखि १७ गतेसम्म तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिका र दोस्रो चरणमा २२ गतेदेखि २६ गतेसम्म घोराही उपमहानगरपालिका, लमही नगरपालिका, बङ्गलाचुली, राप्ती, गढवा र राजपुर गाउँपालिकामा खोप सञ्चालन हुने आचार्यले जानकारी दिए ।

जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले सकेसम्म लक्षित उमेरका बालबालिका रहेका सबै विद्यालयमा केन्द्र राखेर खोप लगाइने जनाए । प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले दाङलाई पोलयोमुक्त गराउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आग्रह गरे ।