सुरक्षण मुद्रणका तत्कालिन निर्देशक विरुद्ध अर्काे भ्रष्टाचार मुद्दा

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अर्काे भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आम्दानीको तुलनामा उनीसँग निकै अस्वभाविक रकम देखिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको देखिएको अख्तियारको दावी छ । अख्तियारले पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग पनि लगाएको छ ।

सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै मंगलबार मात्रै विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनीमाथि २५ करोड ४७ लाख विगो असुल्नुपर्ने र त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसला गरेको थियो ।

विकल पौडेल विरुद्धका थप दुई मुद्दा विशेष अदालतमा विचाराधीन छन् । अख्तियारले उनीमाथि झुटा विवरण पेश गरी सरकारी पदमा पुगेको र सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा दायर गरेको मुद्दा विचाराधीन छन् ।