महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाई

एजेन्सी । साबिक विजेता बार्सिलोनाले आठ पटकको विजेता लियोनलाई हराउँदै महिला च्याम्पियन्स लिगको उपाधि हात पारेको छ । शनिबार भएको खेलमा बार्सिलोना २–० गोलले विजयी भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ६३ औँ मिनेटमा ऐटाना बोनमाटीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाइन् । इन्जुरी समयमा एलेक्सिया पुटेलासले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरेकी थिइन् ।

बार्साले लियोनलाई हराएको यो पहिलो अवसर हो । योसँगै टोलीले सन् २०२२ को फाइनलमा बेहोरेको हारको बदला पनि लिन सफल भएको छ ।

महिला च्याम्प्यिन्स लिग तीन पटक जित्ने बार्सिलोना मात्र तेस्रो टोली हो । यो सिजन टोली ऐतिहासिक चारवटा उपाधि पनि हात पार्न सफल बनेको छ ।