जुम्ला । जुम्लामा फल लाग्दै गरेका एक हजार वटा स्याउको बोट काटिएको छ । सामुदायिक वनको जग्गा अतिक्रमण गरी स्याउ खेती गरेको भन्दै स्थानीयले बोट काटेका हुन् ।
जिल्लाको भाडगाउँस्थित काफलबारी सामुदायिक वनमा ५ हेक्टर क्षेत्रफलमा जुम्लाकै सिंजा–६ जोडुका ४ जना र भाडगाउँका ६ जना गरी १० जनाले स्याउ फार्म सञ्चालन गरेका थिए ।
अतिक्रमित२०६०र०६१ साल देखि सानीपातल काफलबारी सामुदायिक वन र स्याउ फार्म सञ्चालकबीच विवाद हुँदै आएको थियो । २०७१ सालमा जग्गा फिर्ता ल्याउने प्रयास गरिए पनि सफल भएको थिएन् ।
फार्मले सामुदायिक वनलाई प्रतिव्यक्ति १० हजार दिने र जग्गा छोड्ने सहमति भएको थियो, तर सहमति भए पनि कार्यान्वयन भने भएको थिएन् । फार्म सञ्चालकले अतिक्रमित जग्गा नछोडेपछि पटक पटक मुद्दा समेत पर्दै आएको थियो ।
डिभिजन वन कार्यालय जुम्लाका वन अधिकृत खड्कलाल नेपालीले पटक पटक मुद्दा प्रक्रियापछि सहमति भए पनि फार्म सञ्चालकले अटेर गरेपछि गाउँलेको सहमतिअनुसार स्याउका बोट काटिएको जानकारी दिए ।
उनका अनुसार सामुदायिक वनको संरक्षण, अतिक्रमण हटाउने, नियमन तथा निरीक्षण गर्ने अधिकार सामुदायिक वन उपभोक्ता समितिलाई छ ।
