काठमाडौं । स्वास्थ्य सेवा विभागले एक वर्षमा तालिम, गोष्ठी र सेमिनारमा मात्र ५० करोड २७ लाख १ हजारभन्दा बढी रकम खर्च गरेको पाइएको छ।
विभागले तालिम, गोष्ठी र सेमिनारका नाममा एक वर्षमा ४ सय कार्यक्रम गरेको पाइएको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको हो ।
महालेखापरीक्षकको ६१ औं प्रतिवेदन अनुसार विभागले एक वर्षमा गरेको कूल ३ अर्ब १५ करोड ५१ लाख ८४ हजार खर्चमध्ये उक्त सूचीमा सो रकम खर्च गरेको हो।
प्रतिवेदनले यस्ता कार्यक्रम संघीय तथा प्रदेश तालिम केन्द्र, प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्नुपर्नेमा विभाग आफैंले सञ्चालन गर्दै आएको देखाएको छ। यस्त, तालिम कार्यक्रम सञ्चालन हुनुभन्दा अगाडि पेस्की दिने, समयमा नै पेस्की फर्स्यौट नगर्ने, विभिन्न होटल तथा आपूर्तिकर्तालाई नगदमा भुक्तानी गर्ने, कर्मचारीलाई सवारी साधन तथा यातायात खर्च भुक्तानी गर्ने, एउटै कर्मचारीलाई पटक–पटक पेश्की दिने लगायतका समस्या देखिएकोले यस्ता कार्यक्रममा पुनरावलोकन हुन जरुरी देखिएको प्रतिवेदनले देखाएको छ।
ुस्वास्थ्य सेवा विभागले यो वर्ष खर्च गरेको रू ३ अर्ब १५ करोड ५१ लाख ८४ हजारमध्ये तालिम, गोष्ठी र सेमिनार जस्ता करिब ४०० वटा क्रियाकलाप समावेश गरी कार्यक्रम खर्च शीर्षकमा मात्र रू.५० करोड २७ लाख १ हजार खर्च भएको छ। यस्ता कार्यक्रम सङ्घीय तथा प्रदेश तालिम केन्द्र, प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्नुपर्नेमा विभाग आफैँले सञ्चालन गरेको छ। तालिम कार्यक्रमहरू सञ्चालन हुनुभन्दा निकै अगाडि पेस्की दिने, समयमा पेस्की फर्छ्यौट नगर्ने, विभिन्न होटल तथा आपूर्तकलाई नगदमा भुक्तानी गर्ने, विभागले सवारीसाधन उपलब्ध गराएका कर्मचारीलाईसमेत यातायात खर्च भुक्तानी गर्ने गरेको, एउटै कर्मचारीलाई पटक पटक पेस्की दिएको जस्ता बेहोरा देखिएका छन्। यस प्रकारको तालिम कार्यक्रममा पुनरावलोकन हुनुपर्दछ,ु प्रतिवेदनमा भनिएको छ।
