बालुवाटारमा सम्पन्न बैठकमा सहमति जुट्न सकेन, शीर्ष नेताहरुको बैठक दिउँसो ३ बजे

काठमाडौं । बालुवाटारमा सम्पन्न शीर्ष नेता र संसदीय समितिमा बसेको बैठक निष्कर्षविहीन भएको छ । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) तय गर्न बालुवाटारमा बसेको बैठकमा शीर्ष नेताहरु र प्रतिपक्षी दलबीच सहमति जुट्न नसकेको हो ।

बैठक टुंगोमा पुग्न नसकेपछि आज दिउँसो ३ बजेका लागि शीर्ष नेताहरूको बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति जुटाउन भन्दै सत्तापक्ष र प्रतिपक्ष दलका नेतासँग एकल र सामूहिक छलफल गर्दै आएका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार सहभागी थिए ।

यस्तै, नेकपा (एमाले)का तर्फबाट कार्यदलका संयोजक समेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, महेश बर्तौला सहभागी थिए ।

नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रधानमन्त्रीसहित अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे सहभागी थिए भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले, सन्तोष परियारलगायत नेताहरू बैठकमा सहभागी थिए ।