
एजेन्सी । अमेरिकामा आँधीका कारण १५ जनाले ज्यान गुुमाएका छन् । अमेरिकामा हिजो आएको चट्याङ, मेघगर्जन र भारी वर्षासहित आएको आँधीका कारण उनीहरुको ज्यान गएको हो ।
आँधीका कारण जनजीवन निकै प्रभावित भएको बीबीसीमा उल्लेख छ । आँधीका कारण उत्तरी टेक्सासमा सात, अर्कान्सासमा पाँच, ओक्लाहोमामा दुई र केन्टकीमा एक जनाको मृत्यु भएको थियो । अन्य धेरै व्यक्ति घाइते भएको समाचारमा बताइएको छ । आँधीका कारण घरहरू ध्वस्त भएका छन् भने विभिन्न राज्यका झन्डै पाँच लाख घरपरिवारका बिजुलीको लाइन काटिएका छन् ।
टेक्सासका गभर्नर ग्रेग एबोटले आफ्नो राज्यका सबै काउन्टीहरूको एक तिहाइभन्दा धेरै ठाउँलाई प्रकोप प्रभावित क्षेत्र घोषणा गरेका छन् । टेक्सासमा एउटै परिवारमा बालबालिकासहित पाँच जनाको ज्यान गएको उनले जनकारी दिए ।
ट्रोनाडोज नामको शक्तिशाली विनाशकारी आँधीले टेक्सासमा सबैभन्दा बढी क्षति पुर्याएको खबरमा उल्लेख छ । आँधीपछि बाहिरिएको भिडियो फुटेजमा पेट्रोल पम्प र सार्वजनिक ठाउँहरू पूर्ण रूपमा ध्वस्त भएको देखिन्छ । आँधीका कारण गाडीहरूमा क्षति पुगेको र फोहोरको थुप्रोले पुरिएको अवस्थामा रहेका छन् । अहिले डल्लाससहितका धेरै राजमार्ग बन्द रहेका छन् ।
