काठमाडौं । एमालेको छैटौं राष्ट्रिय महिला भेलाको दोस्रो दिनको कार्यक्रम सञ्चालन भइरहेको छ ।
राज्यका हरेक तह र तप्कामा महिलाको अर्थपूर्ण सहभागिताका लागि सामूहिक प्रयास हुनु जरूरी भएकाले महिलाको हक अधिकार सुनिश्चित गरी लैंगिक समानतामुलक सभ्य समाज निर्माण गर्न एमालेले पहल गर्दै आएको र यो पनि एक अर्का पहल रहेको संयन्त्रका संयोजक भानुभक्त ढकालले बताए । उनले संविधानप्रद्धत महिलाको ३३ प्रतिशत अधिकारलाई सुनिश्चित गर्न पहल गर्ने सन्दर्भमा एमाले अन्य पार्टीको तुलनमा अब्बल पार्टी रहेको जिकिर गरे ।
भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरुको लेखाजोखा र महिलाका चुनौतिहरुको विषयमा छलफल गरेर महिला आन्दोलनका अबका छलफलका विषयलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्र हमालले बताइन् ।
भेलाको व्यवस्थापनको लागि १५० जनाको महिला स्वयंसेवक परिचालन कमिटि निर्माण गरिएको अध्यक्ष हमालले बताइन् । भेलामा करिब ५ हजार महिलाको सहभागिता रहेको छ ।

भेलामा पार्टीका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु, एमाले आबद्ध ३३ वटै जनसंगठनका महिला नेताहरु, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरु, पार्टीको प्रदेश तथा जिल्ला कमिटिका महिला पदाधिकारीहरु, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित प्रतिनिधिहरु र अन्य शुभचिन्तकहरुको सहभागिता रहेको छ ।
एमालेकी केन्द्रिय सदस्य रचना खड्काले भेलाको दोस्रो दिन बबरमहल स्थित कार्की बैंक्वेटमा हुने कार्यक्रममा कार्यक्रमको उद्देश्यमा आधारित भएर विभिन्न १२ वटा समुह बनाई सामुहिक छलफल भइरहेको बताइन् ।
छलफलको समापनपछि आजै त्यसको निष्कर्ष निकालिने छ ।

भेलाको समापन कार्यक्रमलाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यसूचि छ।
