आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१–०८२ मा सरकारले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । नेपाललाई आकर्षक भ्रमण गन्तव्यको रुपमा विकास गर्दै विदेशी पर्यटकलाई आकर्षित गर्ने सरकारले योजना बनाएको छ ।

नयाँ आर्थिक वर्षको बजेटको बुँदा नम्बर ६५ देखि ७६ सम्म पर्यटनसँग सम्बन्धित कार्यक्रम तथा परियोजना समेटिएको छ । जसमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ ।

पर्यटन पूर्वाधारको विकास एवं नयाँ गन्तव्यको खोजी, सीमा क्षेत्रमा होटल तथा क्यासिनो सञ्चालन गर्दै विदेशी पर्यटकलाई आकर्षित गर्ने योजना अर्थमन्त्री पुनले अघि सारेका छन् ।

नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्द्धनका लागि पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गर्ने, पर्यटकलाई एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने, पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाइने अर्थमन्त्री पुनले बजेट वक्तव्यमार्फत उद्घोष गरेका छन् ।