दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजको अनुगमन काठमाडौं विश्वविद्यालयले गर्ने

काठमाडौं । मंगलबार चिकित्सा शिक्षा आयोगले झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ । आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सम्बन्धन दिने निर्णय गरेको थियो ।

आयोगले काठमाडौँ विश्वविद्यालयलाई बीएण्डसी मेडिकल कलेजबारे निर्णय गराउने आयोगका सदस्य–सचिव कृष्णप्रसाद काप्रीले बताए । उक्त निर्णयबारे जानकारी गराएपछि काठमाडौँ विश्वविद्यालयले थप प्रक्रिया अगाडि बढाउने उनले बताए ।

उनले भने, ‘अब विश्वविद्यालयले अनुगमन गरेर भौतिक पूर्वाधार, फ्याकल्टीहरू सबै हेर्नेछ । त्यो क्रममा आयोगको टोली पनि जान्छ । भौतिक पूर्वाधार लगायतका विषय हेरेर सम्बन्धन पाएपछि सिट निर्धारण गरिन्छ ।’

काप्रीका अनुसार विश्वविद्यालयले सम्बन्धन दिएपछि अन्य प्रक्रिया अगाडि बढ्ने छ । आयोगले हरेक वर्ष मेडिकल कलेजहरूको सिट निर्धारण गर्दै आएको छ । सोही आधारमा यो वर्षका लागि बीएण्डसीसँगै अन्य मेडिकल कलेजहरूको समेत सिट तोकिने उनले बताए ।