मेलम्ची खानेपानीलाई दुई अर्ब अनुदान दिँदै एडीवी

काठमाडौं । एशियाली विकास बैंक (एडीवी) ले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षति पुर्याएकाले हेडबक्स निर्माणका लागि एडिबीले २ अर्ब (१९दशमलव७५ मिलियन अमेरिकी डलर) बढी नेपाली रुपैयाँ अनुदान दिएको खानेपानी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव सुरेश आचार्यका अनुसार हेडबक्स बनाउने तयारी भइरहेको बेला एडिबीले २ अर्ब भन्दा बढी नेपाली रुपैंया अनुदानमा उपलब्ध गराएको हो । बाढीसँगै बगेर आएका गेग्रान र ढुंगाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरिदिएको थियो ।

२ वर्ष अघिदेखि नै उसले हेडबक्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भएपनि मन्त्रीपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो । सरकारले सहमति जनाएसंगै आयोजनाले हेडबक्स सार्नका लागि परामर्श दाता छनोट प्रक्रिया अघि बढाएको छ ।