
सीता पौडेल(अर्चना)
रोटर्याक्ट कल्ब अफ काठमाडौं नर्थले टोखा नगरपालिका वडा नम्बर,७ को दाहाल गौंडामा अवस्थित ‘शुभश्री वैकल्पिक महिला विद्यालय’लाई सहयोग गरेको छ ।
रोटरी क्लब अफ काठमाडौं नर्थको माताहतमा रहेको उक्त क्लबले गत शनिबार सो विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर एक थान ल्यापटप र एक थान प्रोजेक्टर सहयोग गरेको क्लबकी निवर्तमान अध्यक्ष बिस्मिता तामाङले बताइन् ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष एवं वडा नम्बर ७ की वडा अध्यक्ष शान्ता खनालको अध्यक्षता र रोटरी क्लब अफ काठमाडौं नर्थका अध्यक्ष पिताम्बर पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विद्यालयलाई ल्यापटप र प्रोजेक्टर सहित एउटा कोठाका लागि आवश्यक पर्ने पर्दा र कार्पेट लगायतका सामाग्री पनि समेत हस्तान्तरण गरेको उनले बताइन्।

विद्यालय शिक्षाबाट बन्चित भएका १५० जना भन्दा बढी महिलाहरुले अध्ययन गर्ने सो विद्यालयको शैक्षिक गुणस्तर सुधार एवं सूचना प्रविधिको प्रयोग र उपयोगिताका बारेमा जानकारी होस् भन्ने हेतुले उक्त सामाग्रीहरु प्रदान गरिएको उनको भनाई छ ।
कार्यक्रममा उनले सो परियोजना,क्लबले गर्ने सामाजिक तथा मानवीय सेवा अन्तर्गतको जिल्ला परियोजना (डिष्ट्रिक्ट ग्रान्ट) अन्तर्गतको परियोजना भएको र उक्त विद्यालयलाई छनौट गरि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै परियोजना सफल पार्न प्रत्यक्ष र परोक्षरुपमा सहयोग पु¥याउने क्लबका सबै पदाधिकारीहरु र सदस्यहरु तथा मदर क्लब परिवारप्रति आधार व्यक्त गरिन् ।
२०६२÷२०६३ सालको शैक्षिक सत्रबाट सीएलसी अन्तर्गत सञ्चालनमा ल्याइएको सो विद्यालयमा शुरुमा २०–२० जनाको दरले जम्मा ४० जना महिलाहरुको दुइ सेसनमा कक्षा सञ्चालन गरिएकोमा अहिले १५० जना महिलाहरुले अध्ययन गरिरहेको अध्यक्ष खनालले बताइन् ।

विभिन्न कारणले विद्यालय शिक्षाबाट बञ्चित भएका १४ वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुले अध्ययन गर्ने सो विद्यालयमा २ जना त बृद्ध भक्ता लिइरहेका आमाहरु पनि छन्।विद्यालयमा ७ जना शिक्षिकाहरु छन्।उनीहरुको अनुदानस्वरुप आउने पारिश्रमिक रकम भने नेपाल सरकारको शिक्षा मन्त्रालय अन्तर्गत नगरपालिकाको शिक्षा शाखाबाट भुक्तानी हुँदै आएको अध्यक्ष खनालले थप जानकारी दिइन् ।

सीएलसी र यस प्रकारका कक्षाहरु सञ्चालन गर्नाले टोखा नगरलाई साक्षर नगर घोषणा गर्ने काममा पनि मद्दत पुगेको उनको भनाइ छ।
कार्यक्रममा कम्युनिटि लनिङ सेन्टर (सीएलसी)की अध्यक्ष वसुधा भण्डारी र सामाजिक परिचालक तथा शिक्षिका शरु घिमिरेले सूचना प्रविधिको उच्चतम प्रयोग भइरहेको वर्तमान समयमा हरेक व्यक्तिका लागि विधुतिय उपकरणहरुको उपयोगिता र प्रविधिको प्रयोग महत्वपूर्ण रहेको भन्दै सो क्लबले प्रदान गरेको ल्यापटप र प्रोजेक्टरबाट सिकाइ थप प्रभावकारी हुने विश्वास लिएको बताए।

साथै उनीहरुले रोटरीले समाजमा गर्दै आएको सामाजिक र मानवीय सेवा कार्यहरुको खुलेर प्रसंसा समेत गरे ।९ कोठाको ४ तले आफ्नै भवनमा सञ्चालन भएको सो विद्यालयमा बिहान सवा १० बजेदेखि दिउँसो ३ बजेसम्म कक्षा सञ्चालन हुन्छ।
यहाँ एउटा लाइब्रेरी पनि छ,तर त्यस लाइब्रेरीमा पुस्तकहरुको अभाव रहेको विद्यालयले जनाएको छ।
टोखा नगरपालिकाले वि.सं. २०७६ मा नगरपाकिलालाई साक्षर नगर घोषणा गरेको थियो।



