काभ्रेको बनेपामा उड्डयन व्यवस्थापनमा पढाइ हुने,सिद्धार्थ वनस्थली विद्यालयसँग गरियो साझेदारी

काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा उड्डयन व्यवस्थापन (एभिएसन म्यानेजमेन्ट) विषयमा पढाइ हुने भएको छ।

धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्टअन्तर्गत सिम्रिक भेञ्चर र सिद्धार्थ वनस्थली विद्यालयको साझदारीमा यहाँ स्नातक तहमा पढाइ हुने भएको हो।

भेञ्चरका अध्यक्ष रामेश्वर थापाले भने,‘चार वर्षे तहमा उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न ज्ञान र सीप प्रदान गरिने छ। ‘चार वर्षे स्नातक कार्यक्रम सञ्चालनपछि यो विषयमा अध्ययन गर्न विदेशिनुपर्ने बाध्यता हट्नेछ।’

‘चार वर्षे स्नातक कार्यक्रममा उड्डयन कानुन तथा नियम, उड्डयन सुरक्षा, एयरपोर्ट योजना तथा व्यवस्थापन, उड्डयन मार्केटिङ, एयरलाइन अपरेसन, उड्डयन र अर्थशास्त्र, पर्यटकीय महत्त्व र मानव संसाधन व्यवस्थानसहितका पाठ्यक्रम समावेश हुने छन्। यी पाठ्यक्रमले विमानसम्बन्धी गतिविधि प्रबन्ध गर्न व्यवहारिक प्रशिक्षण प्रदान हुनेछ’, थापाले भने।

केयूका उपकुलपति डा‍. भोला थापाका अनुसार आफ्नो विस्तारित कार्यक्रमअन्तर्गत दक्ष जनशक्ति उत्पादन गर्न एभिएसन म्यानेजमेन्ट विषयमा स्नातक तहको शिक्षण शुरु गर्न लागिएको हो। ‘नेपालमा यो पहिलो प्रयास हो, हामी नेपालमा यो विषयमा दक्ष जनशक्ति उत्पादन गर्नेमा विश्वस्त छौँ’, उनले भने।

यो वर्ष ३३ जना विद्यार्थी भर्ना गर्ने केयूले बताएको छ।

विद्यार्थीले जटिल परिस्थितिलाई कसरी व्यवस्थापन गर्ने तथा दबाबमा काम गर्ने तरिका र विभिन्न सरोकारवाला पक्षसँग प्रभावकारी रूपमा संवाद गर्ने विषयमा पढाइने सो विश्वविद्यालयले जनाएको छ ।