मिडिया काउन्सिल विधेयकको नाम आम सञ्चार परिषद् विधेयक राखिने

२२ साउन,काठमाडौंं। मिडिया काउन्सिल विधेयक २०८० को नाम ‘आम सञ्चार परिषद् विधेयक’ राखिने संसदीय समितिमा सहमति जुटेको छ ।

मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक,२०८० माथि दफावार छलफल भएको थियो।बैठकमा मिडिया काउन्सिल विधेयकको नाम उल्लेखित नाम राख्ने सहमति जुटेको हो।

बैठकमा‘ मिडिया काउन्सिल’ नाम अंग्रेजीबाट भएको भन्दै नामलाई नेपालीकरण गर्नका लागि भनेर समिति सदस्यहरूले संशोधन प्रस्ताव गर्दै सो नामलाई नेपालीकरण गर्नुपर्नेमा जोड दिइएको थियो।सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि नामलाई नेपालीकरण गर्न सरकार तयार रहेको बताएका थिए ।

सँगै मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद् विधेयक राख्न सहमति जुटेको समिति सभापति जयन्तीदेवी राईले घोषणा गरेकी छिन् ।परिवर्तित नाम अनुरूप बाँकी प्रक्रिया अगाडी बढाउने उनले बताएकी छिन् । उनले नेपाली भाषालाई जोगाउने उद्देश्यसहित नामको नेपालीकरण गरिएको उल्लेख गरिन।

विधेयकभित्रको विषयवस्तुहरू भने परिवर्तन नहुने उनको भनाई छ ।सञ्चार क्षेत्रलाई सरकारले नियन्त्रण गर्नेगरी सो विधेयक आएको भन्ने सरोकारवालाहरूको गुनासो रहेको उनले कुनैपनि हालतमा सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न नदिइने प्रतिबद्धता व्यक्त गरिन् ।