
२५ साउन, पर्सा । पर्सामा महिला उद्यमीको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०८०र८१ मा तीन सय ९९ महिलाका नाममा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । सोही आवमा पुरुषका नाममा पाँच सय ४४ उद्योग दर्ता भएका छन् । गत आवमा आठ सय ९७ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।
सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग दर्ता गरे ३५ प्रतिशत छुट दिने प्रावधानले महिला उद्यमीका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धञ्जयकुमार सिंहका अनुसार छुट पाउने प्रावधानकै कारण महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको बताउछन्।
“विगतमा महिला उद्यमी सञ्चालक भएर उद्योग दर्ता गर्ने चलन थिएन । अहिले सरकारले दर्ता शुल्कमा छुट दिने व्यवस्था गरेसँगै महिला उद्यमी सञ्चालक भएर उद्योग दर्ता गर्ने क्रम बढेको छ”, उनले भने । अझै पनि पुरुषकै स्वामित्वका उद्योगको सङ्ख्या धेरै छ ।
कार्यालयका अनुसार आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए । सो आवमा नयाँ दर्ता भएका उद्योगमा महिला उद्यमीको स्वामित्व भएको सङ्ख्या चार सय ५० र पुरुष उद्यमीको स्वामित्व भएका भने ६ सय ५४ रहेका छन् ।
