पाठेघरको बायोप्सी निकाल्ने क्रममा भरतपुर अस्पतालमा एक महिलाको मृत्यु

५ भदौ,चितवन।चितवनको भरतपुर अस्पतालमा पाठेघरको मासुको टुक्रा(बायोप्सी) निकाल्न खोज्दा एक महिलाको मृत्यु भएको छ।

मंगलबार अस्पतालमा बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने)सूइ दिंदा उनको मृत्यु भएको हो।

मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा नं.५ की ३९ वर्षीया सम्झना काफ्ले ढकाल रहेकी छिन्।पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो ।

भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको थियो।उनले बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको भएपनि बचाउन नसकिएको बताए।

एनेस्थेसिया दिने बित्तिकै बिरामी अचानक गम्भीर अवस्थामा पुगेको पनि उनले बताए।तर मृतकका आफन्तहरूले भने अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको बताएका छन्।

मृतक महिलाको एक छोरी र एक छोरा छन्।