
६ भदौ,रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारका ठगहरूलाई सरकारले संरक्षण गरेको आरोप लगाएका छन् ।
रौतहटको छतौना र विश्रामपुरमा बुधबार आजपा नगर कमिटीद्वारा आयोजित “वैदेशिक रोजगारका ठगलाई सरकारले कारबाही गर्छ कि संरक्षण ?” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारका ठगहरूलाई कारबाही नगरी सरकारले संरक्षण गरेको बताएका हुन् ।
अध्यक्ष साहले भने, ’गाउँका गरिब युवाहरू रोजगारका लागि बिदेश जान बाध्य भएका छन् । मुलुकमै रोजगार दिन नसकेको सरकारले वैदेशिक रोजगारको नाममा भइरहेको लुट धन्दालाई संरक्षण दिएको छ’ । ‘नेपालमा स्वास्थ्य परीक्षण गरी वैदेशिक रोजगारमा जाने युवाको विदेशमा मृत्यु हुन्छ ।उनीहरूको लास नेपाल आउँछ । यहाँ बलियो, स्वास्थ्य रहेका युवाको विदेशमा मृत्यु कसरी हुन्छ ?
यहाँ एउटा काम भन्ने त्यहाँ अर्को काममा लगाउने ’ फ्री टिकट फ्री भिसा भन्ने तर मोटो रकम लिएर विदेश पठाउने ! अलपत्र पार्ने,यस्ता भ्रष्ट र लुटेरालाई कारबाही नगरी सरकारले संरक्षण गर्ने काम भइरहेको छ ।’
केही म्यानपावर कम्पनीसँग मिलेर सरकारले मानव तस्करीको काम गरिरहेकोसमेत अध्यक्ष साहले आरोप लगाएका छन् ।
कार्यक्रममा सहभागीहरूले पनि वैदेशिक रोजगारका ठगहरूलाई सरकारले नै पालिरहेको निष्कर्ष सहित पीडितलाई न्याय दिलाउन जस्तो सुकै आन्दोलन गर्न पनि तयार रहेको प्रतिबद्धतासमेत जाहेर गरेका थिए।
