१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी

१४, भदौ सर्लाही । सर्लाहीको चुरे क्षेत्रमा पर्ने अत्रौलीका स्थानीयले डेढ दशकको प्रतीक्षापछि खानेपानीको सुविधा पाएका छन् । निर्माण आरम्भ भएको १५ वर्षपछि हरिवन नगरपालिका(२, अत्रौलीका झण्डै पौने तीन सय घरधुरीले खानेपानी सुविधा पाएका हुन् ।

चुरेको काखमा रहेको साविक अत्रौली गाविसका आधा दर्जन गाउँका स्थानीय पानीको चरम अभाव झेल्न बाध्य थिए । खानेपानीको सुविधा नहुँदा खोलाको पानी पिउनु परेको स्थानीय नवराज मैनालीले बताए। “पानीको कुनै विकल्प थिएन, १५ वर्षदेखि पानी खान पाइन्छ कि भन्ने आशामा थियौँ, घरघरमै धाराबाट पानी आउन थालेपछि भने सुविधा भएको छ”, उनले भने।

यसभन्दा पहिले वर्षामा खहरे खेलाको धमिलो पानी पिउने गरेको अर्का स्थानीय पशुपति शर्माले सुनाए । हिउँदमा खोला समेत सुक्दा पानीको चरम अभाव भएको उनले बताए ।

तर अहिले भने घरघरमै खानेपानीको धाराबाट पानी झरेपछि स्थानीय हर्षित भएका छन् । संघीय सरकारको लगानीमा २०६६ साल देखि खानेपानी आयोजना सुरु भएको थियो । तर, पर्याप्त बजेट नपाउँदा अलपत्र पर्दै आएको आयोजना १५ वर्षपछि सम्पन्न भएको हो । यहाँका नागरिकलाई पानी खुवाउन सुरु भएको आयोजना ढिलो गरी पूरा भएको वडाध्यक्ष अर्जुनकुमार योञ्जनले जानकारी दिए ।