सञ्चारसम्बन्धी महत्वपूर्ण विधेयक भदौ मसान्तसम्ममा अघि बढ्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भाद्र मसान्तसम्म सञ्चारसम्बन्धी महत्वपूर्ण विधेयकहरू अघि बढ्ने बताएका छन् ।

सोमबार राष्ट्रिय समाचार समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले प्रधानमन्त्रीसँग भएको १०० दिनको कार्यसम्पादन सम्झौता अनुसार भदौ मसान्तसम्म सञ्चारसम्बन्धी महत्वपूर्ण विधेयक अघि बढ्ने बताएका हुन् ।

सामाजिक सञ्जालको सञ्चालन,प्रयोग तथा नियमनसम्बन्धी विधेयक र सूचना प्रविधि र साइबर सुरक्षासम्बन्धी विधेयक मन्त्रिपरिषद्‍मा भदौ मसान्तसम्म पेश गर्ने उनले सुनाए ।

त्यस्तै दूरसञ्चारसम्बन्धी विधेयक,राष्ट्रिय आमसञ्चार विधेयक,चलचित्र विधेयकलाई संशोधन गर्नुपर्ने र डाटा सेन्टरलाई सञ्चालनका लागि मापदण्ड तयार गरिने पनि उनले बताए ।

यस्तै उनले सरकारी इमेल सञ्चालनसम्बन्धी कार्यविधि तयार गरी छलफलका लागि सार्वजनिक गरिने, एआईसम्बन्धी नीति असोज मसान्तसम्म तयार गर्ने, सुरक्षण मुद्रणसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गराउने हुने बताए ।

ब्रोडब्याण्ड नीति २०८१ को मस्यौदा तयार गर्ने, एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको सेवा असोज मसान्तभित्रै थप ३० निकायमा पुर्‍याउने तयारी भएको पनि उनले जानकारी दिए।